Sunday, July 22, 2012

औपचारिक उद्घाटन आइबारबाट शुरु

इन्द्राणी पोखरी गाविसलाई आउँदो चैत्र मसान्त भित्र धुँवा रहित गाविस घोषणा गर्ने तयारीका साथ थालिएको अभियानको औपचारिक उद्घाटन आइबारबाट शुरु भएको छ ।
‘घरघरमा सुधारिएको चुल्हो बनाऔं, चैत्र मसान्त भित्र इन्द्राणी पोखरीलाई घुँवा रहित गाविस घोषणा गरौं” भन्ने नाराका साथ सुरु भएको प्रचारात्मक कार्यक्रमको उद्घाटन नेकपा एमाले खोटाङका अध्यक्ष क. विशाल भट्टराईले गर्नु भएको थियो । सुधारिएको धुँवा रहित चुल्होले मानिसको स्वास्थ सुधार गर्न मात्र नभई बन बिनासलाई रोक्न पनि सक्षम हुने बताउँदै प्रमुख अतिथि भट्टराईले यो अभियान खोटाङका सबै गाविसमा शुरु गर्नु पर्ने बताउनु भयो ।
    कार्यक्रममा इन्द्राणी पोखरी गाविसका सचिव लक्ष्मी प्रसाद गेलालले यस गाउँ विकास समिति भित्र ५० प्रतिशत घरधुरीले सुधारिएको चुल्हो बनाई सकेको जानकारी दिनु हुँदै चैत्र मशान्तसम्ममा सबै घरधुरीमा सुधारिएको चुल्हो बनिसक्ने जानकारी दिनु भयो । आर्थिक वर्ष २०६८÷६९ मा गाउँ विकास समितिबाट विपन्न ४५ घरधुरीलाई सुधारिएको चुल्हो निःशुल्क बनाईदिएको स्मरण गर्नु हुँदै सचिव गेलालले आउँदो आर्थिक वर्षमा समेत यो कार्यक्रमलाई निरन्तरता दिनु पर्ने आवश्यकता औंल्यानु भयो ।
    कार्यक्रममा नेकपा एमाले खोटाङ जिल्ला कमिटिका सदस्य एवं इन्द्राणी पोखरी गाउँ विकास समितिका पूर्व अध्यक्ष प्रदिप राई, भगवति दिनानाथ उच्च मा.वि खोटाङका शिक्षक जगन्नाथ न्यौपाने, इन्द्राणी पोखरी मा.विका शिक्षक अमृत राई, इन्द्राणी पोखरी गाविसका समाजिक परिचालक मनकुमारी कार्की, प्रमेश विष्ट लगायतले मन्तब्य राख्नु भएको थियो ।
इन्द्राणी पोखरी गाविसलाई धुँवा रहित गाविस घोषणा गर्ने तयारीका साथ गठन भएको कार्य सम्पादन समितिको आयोजनामा सम्पन्न भएको कार्यक्रम समितिकी अध्यक्ष रेणुका रोकाको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव इन्द्र नारथुङेले गर्नु भएको थियो ।

Tuesday, July 17, 2012

बाटो खन्ने काम सम्पन्न

इन्द्राणी पोखरी गाविस देखि चिप्रिङ, छिातापोखरी हुँदै खिदिमा जोड्ने सडकको लागि यस बर्ष विनियोजन भएको रकमबाट बाटो खन्नेकाम सम्पन्न भएको छ । राष्ट्रिय योजना आयोग अर्थात रेड बुकमा परेको यस सडकको लागि यस बर्ष डेढ लाख रुपैयाँ विनियोजन भएको थियो ।
    यही असार २६ र २७ गते स्क्याभेटर प्रयोग गरि जम्मा ६ सय ५० मीटर बाटो खनिएको छ । बाटो खन्नको लागि स्थानीय संस्थाहरुले समेत उत्साह देखाएपछि उपभोक्ता समितिले इन्द्राणी पोखरी वडा नं ९ मा सक्रिय रहेको लाली गुँरास यूवा क्लबबाट ५० हजार सापटी लिई थप २५० मीटर बाटो समेत खनिएको छ ।

Monday, July 16, 2012

Saturday, July 14, 2012

खोटाङ जिल्लाको दक्षिण पूर्वमा पर्ने इन्द्राणी पोखरी गाविसलाई आउँदो चैत्र मसान्तभित्र धुँवा रहित गाविस घोषणा घोषणा गर्ने तयारी भइरहेको छ । यस गाविसमा हाल ४० प्रतिशत घर परिवारमा धुवाँ रहित सुधारिएको चुल्हो बनिसकेको छ । बाँकी ६० प्रतिशत घरमा समेत धुवाँ रहित सुधारिएको चुल्हो बनाएर गाविसलाई धुँवा रहित गाविस घोषणा गर्न एक समिति समेत बनेको छ । समितिमा रेणुका रोका (अध्यक्ष), प्रमेश विष्ट (उपाध्यक्ष), इन्द्र नारथुङे (सचिव), शुसिला राई (सहसचिब) र कमला राई कोषध्यक्ष रहनु भएको छ । गाविसमा कृयाशिल राजनीतिक पार्टीका प्रमुखहरु, विद्यालयका प्रधानाध्यापकहरु र विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सदस्य रहेको यस समितिले हाल प्रचारात्मक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।